आयोगको सूचनाप्रति भिम रावलको आपत्ति,भने :‘विचार ,अभिव्यक्तिको स्वतन्त्रता र सञ्चारको हक विरूद्ध छ’
काठमाडौं । निर्वाचन आयोगले शीर्ष नेताहरुको फोटा हालेर आलोचना गरे कारबाही गर्ने चेतावनी दिएपछि एमालेका नेता भिम रावलले आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, “आयोगले शीर्ष ठानेका नेताहरुलाई अहिले नै विजयी घोषणा गरिदिएका कसो होला ?”
निर्वाचन आयोगले हिजो सूचना जारी गर्दै प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेतालाई ‘नो, नट टु अगेन’ भनेर फेसबुकका पेज,ग्रुपहरूमा राखेर विभिन्न लञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्धेषपूर्ण श्रव्य तथा श्रब्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको थियो ।
अयोगले विज्ञप्तिमा भनेको थियो,“झुठ फेसबुक पेज ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय(इलेक्टोकि) कारोबार ऐन,२०६३ को दफा ४७, निर्वाचन(कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ),(ट),(ठ) र (ड) को प्रतिकुल रहेको देखिन्छ ।”
जवाफमा नेता रावलले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध रहेको बताएका छन् ।
आयोगले आफ्नो विज्ञप्तिमा यस्ता सामाग्री लेख्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको स्मरण गराएको छ ।
आयोगले झुठ फेसबुक पेज,ग्रुपहरू तत्काल हटाउन र यस्ता गतिविधि नगर्न भनेको छ । र, नहटाए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।
नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष ’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? भनेका छन् । पछिल्लो समय शीर्ष नेताहरूलाई लक्षित गरेर ‘नो, नट टु अगेन’ अभियान चलिरहेको छ ।








