१० पुस २०८२, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज

प्रकाशित मिति :  29 October, 2022 7:38 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा. कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य ठहर गेको हो ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले ठहर गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट डाक्टर कार्कीलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू पठाएको थियो ।

उम्मेदवार डा. कार्की मिति २०७८ पुसदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रूपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९ बैशाख ९ देखि मिति २०७९ असोज २ गतेसम्म भत्ता बुझेको आयोगले जनाएको छ ।

आयोगले कानूनी व्यवस्था बमोजिम डा. कार्कीको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !