१९ मंसिर २०८२, शुक्रबार

माओवादीको प्रतिबद्धतापत्र: आगामी पाँच वर्षभित्र २० लाख युवालाई रोजगार र स्वरोजगार बनाउने

प्रकाशित मिति :  31 October, 2022 4:22 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी पाँच वर्षभित्र २० लाख युवालाई रोजगार र स्वरोजगार बनाउने प्रतिबद्धता पत्र जारी गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार जारी गरेको उक्त प्रतिबद्धतापत्रमा २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसब्ख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बिउ, पुँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउने उल्लेख छ । यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्ने जनाएको छ ।

सरकारी तथा निजी क्षेत्रका निकाय एवम् प्रतिष्ठानहरूसँग समन्वय गरी एकीकृत कार्यक्रम मार्फत ठुलो संख्यामा रोजगारीको अवसर सिर्जना र व्यवस्थापन गर्न एक अधिकार सम्पन्न राष्ट्रिय रोजगार प्राधिकरण स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्रमा भनिएको छ, वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइन मार्फत परामर्श दिई उद्यम–व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्नेछ । वैदेशिक रोजगारीमा जानेहरूलाई एकद्वार प्रणालीबाट सहजरूपमा सेवा प्रवाहको व्यवस्था गरिने छ ।

श्रम ऐनलाई समयानुकूल परिमार्जन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाइने तथा आइएलओ अभिसन्धि १९० को मर्मअनुसार समान कामको समान ज्याला प्रणाली लागु गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !