१९ मंसिर २०८२, शुक्रबार

मनाङमा चुनावी सरगर्मी बढ्दै

प्रकाशित मिति :  3 November, 2022 11:08 am


मनाङ । हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबिच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबिच प्रतिस्पर्धा भएको थियो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने भएको हो । दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो । पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नु पर्नेछ ।

कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् । कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएका छन् । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रूपमा चिनिन्छ ।

गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेशसभा ‘ख’तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् ।

गत निर्वाचनमा कूल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । दुई सय ८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका तीन पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन कायम गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कूल छ हजार सात सय ७९ मतदाता छन् । रासस



प्रतिक्रिया दिनुहोस !