१० पुस २०८२, बिहिबार

तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा राप्ती गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने

प्रकाशित मिति :  3 November, 2022 11:20 am


काठमाडौं । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ ।

एक महिनाभित्रै केन्द्र स्थापना हुनेगरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार हस्ताक्षर भएको सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि अध्यक्ष विष्टले जनवरी १ देखि नै उपचार केन्द्र स्थापना हुने जानकारी दिए ।

“आँखा अस्पतालको लागि भवनलगायतका भौतिक पूर्वाधार हामीले उपलब्ध गराउने र उपकरणसहितको टेक्निकल टिम तिलगंगाले गर्ने गरी हामीले सम्झौता गरेका छौं,” राप्ती गाउँपालिका अध्यक्ष विष्टले हस्ताक्षरपछि भने,“केन्द्रकाे स्वामित्व पालिकाले लिने गरी ३० वर्षको सम्झौता भएको छ ।”

तत्कालका लागि केन्द्र सञ्चालन गर्न गाउँपालिकाले आवश्यक संरचना उपलब्ध गराउने छ । सिसहनियाँमा खुल्ने आँखा अस्पतालका लागि दीर्घकालीन रूपमा गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ ।

तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने भएको छ । केन्द्र स्थापना गर्नका लागि प्राविधिक टोली यसै हस्ताभित्र सिसनियाँ जाने छ ।

१ वर्षपछि केन्द्र पूर्ण रुपमा गाउँपालिकालाई हस्तान्तरण हुने अध्यक्ष विष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !