नेकपा एमालेले भन्यो,‘रोल्पामा कुनै दल वा स्वतन्त्र उम्मेदवारसँग तालमेल छैन’
राेल्पा । नेकपा एमालेले रोल्पामा कुनै दल वा स्वतन्त्र उम्मेदवारसँग तालमेल नगरेको स्पष्ट पारेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं रोल्पाकी नेतृ इश्वरी जिएमले रोल्पामा गठबन्धनका नेता र उम्मेदवारले स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुनलाई नेकपा एमालेले भोट हालेर जिताउँदैछ भनेर आम जनतामाझ भ्रम फैल्याइएको दाबी गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा जिएमले भ्रम फैलाउनु हारको मानसिकता भएको टिप्पणी गरेकी छन् ।
उनले भनेकी छन्,“ एमालेको नाम पोलेर दिपेन्द्र पुन(सिजल) लाई गालि गर्ने बहाना मात्रै हो। नेकपा एमालेले प्रदेशसभा र प्रतिनिसभा निर्वाचनका लागि रोल्पामा कोहि दल वा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको छैन ।”
नेकपा एमालेबाट प्रदेश निर्वाचन क्षेत्र (ख) मा एमाले उम्मेदवार प्रेम घर्ती रहेका छन् । नेकपा (माओवादी केन्द्र)ले टिकट नदिएपछि दिपेन्द्र कुमार पुन ‘सिजल’ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
रोल्पामा सत्तारुढ गठबन्धनबाट प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले उम्मेदवारी दिएका छन् ।








