१० पुस २०८२, बिहिबार

रोल्पामा सिजलको विज्ञप्तिले गठबन्धनमा प्रश्न,सहमतिका आधारमा उम्मेदवारी दिएको दाबी

प्रकाशित मिति :  3 November, 2022 1:06 pm


रोल्पा । रोल्पाको प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका दिपेन्द्रकुमार पुनले नेतृत्व वर्ग र पार्टीपंक्तिकै सहमतिका आधारमा उम्मेदवारी दिएका दाबी गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी व्यक्तिगत निर्णय मात्रै नभएको उल्लेख गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्,“ प्राविधिक रूपले मैले राजिनामा दिए तापनि नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिका आधारमा यो उम्मेदवारी दिएको हुँ ।”

पुनले उम्मेदवारीको समय दिनभरि विभिन्न तहमा छलफल परामर्श गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने निश्कर्षका साथ अन्तिम समयमा उम्मेदवारी दर्ता गरेको बताएका छन् । पुनले नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

रोल्पामा पनि सत्ता गठबन्धन मिलेर चुनावमा गएका छन् । सहमति अनुसार रोल्पा प्रदेश सभा (ख) नेपाली कांग्रेसको भागमा परेको छ र अमरसिंह पुन उम्मेदवार रहेका छन् । प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा उम्मेदावर छन् भने संघका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् ।

सार्वजनिक कार्यक्रममा रोल्पामा गठबन्धन एक भएर चुनाव प्रचारमा लागिरहेका बेला सिजलले भने पार्टी र नेतृत्व वर्गकै सहमतिमा उम्मेदारी दिएको दाबी गरेपछि अन्योल सिर्जना भएको छ ।

पुनको विज्ञप्तिले गठबन्धनमाथि प्रश्न उठेको छ । पुनको दाबी अनुसार नेकपा माओवादी केन्द्रको नेतृत्व र पार्टी पंक्तिको भित्रि रूपमा समर्थन गरेको हो वा हाेइन भन्नेबारे प्रष्ट पार्नुपर्ने भएको छ ।

उनले आफ्नो विज्ञप्तिमा भनेका छन्,“यो मेरो व्यक्तिगत निर्णय मात्र होइन तर आज कतिपयले आफ्नो छाला जोगाउन कसले के बोलिरहेका छन् मलाई थाहा छैन । मलाई यत्ति कुरा थाहा छ कि , रोल्पाको अनौपचारिक रूपले पार्टीपंक्ति र आम मतदाताहरू सबै स्पष्ट नै हुनुहुन्छ । ” उनले आफू नेकपा एमाले प्रवेश गर्ने भनेर फैलाइएको हल्ला समेत गलत भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !