१० पुस २०८२, बिहिबार

एमालेको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुग्छ : विद्या भट्टराई

प्रकाशित मिति :  3 November, 2022 2:52 pm


नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले निर्वाचन लक्षित घरदैलो कार्यक्रम सुरु गरेकी छन् । भट्राईले यस क्षेत्रको विकास, निर्माणको निरन्तरताका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

ज्येष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरे पनि बिचमै सरकार ढलेपछि अवरोध भएको बताउँदै उनले मंसिर ४ गतेपछिको बन्ने एमालेको सरकारले सबै खाले भत्तामा वृद्धि गर्ने आश्वासन दिइन् ।

निर्वाचन लक्षित घरदैलो कार्यक्रममा पोखरा १६ स्थित पर्यटकीय स्थल अर्मलाकोट पुगेकी उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता गरिन् ।

दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पूरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् ।

कास्की २ की उम्मेदवार मीना गुरुङले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता जनाइन् । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले यस क्षेत्रको अधुरा विकास निर्माणका काम पूरा गर्न प्रत्यक्ष उम्मेदवारका रूपमा उपस्थित भएको जनाइन् ।



प्रतिक्रिया दिनुहोस !