१९ मंसिर २०८२, शुक्रबार

विद्युतीय सवारीलाई दलहरूको घोषणापत्रमा प्रथामिकता: यस्ता छन् दलहरूको योजना

प्रकाशित मिति :  4 November, 2022 1:29 pm


काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा ठूलादेखि साना दलहरूले आफ्नो घोषणपत्र सार्वजनिक गरिसकेका छन् । प्रत्येक दलहरूको घोषणापत्रलाई नियालेर हेर्ने हो भने पाँच वर्ष भित्र देशमा पेट्रोलियम पर्दाथबाट चल्ने सवारी साधानलाई विस्थापित गरेर विद्युतीय सवारी साधानलाई प्रथामिकता दिने उल्लेख गरेका छन् । नेकपा एमालेले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा सहरी क्षेत्रमा ठुला विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने जनाएको छ । मोटरबाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ ।

त्यस्तै सम्भावित सवारी दुर्घटना स्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने र आवधिकरूपमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पुर्याउने प्रतिबद्धता गरेको छ । घोषणापत्रका अनुसार उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै महानगर, उपमहानगर र नगरपालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरणमार्फत सुलभ र सुरक्षित यातायातको सुविधा उपलब्ध गराइने छ। नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र सबै महानगरमा अधिकांश गाडी विद्युतीय हुने योजना ल्याउने उल्लेख गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको छ । प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा विद्युतीय चार्जिङ स्टेशनहरूको निर्माण गर्ने र काठमाडौं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउने जनाएको छ । प्रदेश तथा पालिकाहरूबाट सबै प्रमुख सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्नुका साथै सवारी चालकहरूको क्षमता अभिवृद्धि गरी यातायात क्षेत्रलाई सुरक्षित तुल्याउन प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय स्थापनामा जोड दिने जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा आधुनिक र भरपर्दो विद्युतीय बस प्रणाली सबै महानगर र उपमहानगरहरूमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीको वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि र वातावरणमा पेट्रोलियम सवारी साधनले पारेको असरलाई न्युनीकरण गर्नको लागि विद्युतीय सवारी साधनलाई प्रथामिकता दिने उल्लेख गरेको छ ।

यात्रु,साइकल लेन तथा अपांगतामैत्री बाटाहरू बनाउने र सहरी तथा ग्रामीण क्षेत्रहरूका सडकहरूमा न्यूनतम गुणस्तर कायम गर्न बाध्यकारी प्रावधान राख्ने जनाएको छ । त्यस्तै सार्वजनिक यातायात प्रणालीमा गुणस्तर कायम गर्न सम्पूर्ण यातायात पद्धतिलाई नियमन गर्ने गरी अधिकारसम्पन्न राष्ट्रिय यातायात संस्थान स्थापना गरिने वाचापत्रमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !