निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने उपराष्ट्रपति पुनकाे विश्वास
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग भएको बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारी बारे जानकारी गराउन आज उपराष्ट्रपति भवन, हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपति पुनले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
“स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु”, उनले भने, “प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसमा मलाई निकै खुसी लागेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।”
उपराष्ट्रपति पुनसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए ।
उनले मतपत्र छपाईको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लाहरूमा ढुवानीसमेत भइसकेको जानकारी गराए ।
उनले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए ।








