६ फाल्गुन २०८२, बुधबार

झापा क्षेत्र नं. १ : संघमा रोचक, प्रदेशमा कोइरालाको परीक्षा

प्रकाशित मिति :  4 November, 2022 6:09 pm


झापा । झापाको निर्वाचन क्षेत्र नं. १ त्यसै पनि चर्चामा छ । २ पटक चुनाव हारेका नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा अहिले पार्टीको महामन्त्री बनेर तेस्रो पटक चुनावी मैदानमा छन् ।

शर्माका प्रतिस्प्रधि छन् नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अग्नि खरेल । केपी शर्मा ओलीका विश्वास पात्र भएर काम गरेका खरेल र शर्माको रोचक भिडन्त चलिरहँदा प्रदेश सभा (क) मा रविन कोइराला र गठबन्धनबाट गोपाल तामाङको प्रतिस्पर्धा पनि कम छैन ।

राप्रपासमेतको गठबन्धनमा एमाले छ । गत स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्दा एमालेलाई सहज अवस्था हुने अनुमान गर्न सकिन्छ । मेचीनगर नगरपालिकामा स्थानीय तहको चुनावमा १५ वटा वडामध्ये ११ वटा नेकपा एमालेले जितेको थियो । केही सहज हुने देखेर नै खरेललाई ओलीले उक्त क्षेत्रमा पठाएका थिए ।

झापा १ को अर्को पुरानो रोग भनेको कांग्रेस भित्रको अन्र्तघात हो । झापा क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौलालाई विश्वप्रकाश शर्माका कार्यकर्ताले र झापा क्षेत्र नम्बर १ मा सिटौलाका कार्यकर्ताले शर्मालाई भोट नदिने प्रचलन पुरानो नै भएको जानकारहरू बताउँछन् । यो चलखेलमा खेल्न पनि ओलीले आफ्ना विश्वास पात्र खरेललाई पठाएको आँकलन छ । यद्यपी चुनावी परस्थितिबारे अनुमान गर्न गाह्रो छ ।

कोइरालाको दाबीमा खरेलको प्रवेश

झापा १ बाट रविन कोइराला २०७० बाट प्रतिनिधि सभामा निर्वाचित भइसकेका हुन् । मेचीनगर नगरपालिकाको पहिलो मेयर समेत रहेका कोइराला यसपटक पनि प्रतिनिधि सभामा आउन चाहन्थे । स्थानीय पार्टीले उनलाई प्रतिनिधि सभाका लागि एकल सिफारिस गरेको थियो । तर ओलीले खरेललाई पठाएपछि रविन प्रदेश सभा (क) मा झर्न बाध्य भए ।

उनले प्रदेशमा झर्नुपर्ने अवस्थामा पार्टीसँग मुख्यमन्त्रीको आकांक्षा राखेका थिए तर ओलीले मुख्यमन्त्री वा सभामुख मध्ये १ बनाउने आश्वासन दिएर पठाएका छन् । रविन तुलानात्मक हिसाबले जनतामाझ स्थापित छन् ।

झापा १ मा कांग्रेसभित्रकै अन्तर्घातको पुरानो समस्या भएकाले संघ र प्रदेशमा चुनाव जित्ने एमाले आशावादी छ यद्यपी सत्तारुढ गठबन्धन यसपटक बढी आक्रमक देखिन्छ । गठबन्धनका साझा उम्मेदवार गोपाल तामाङ नयाँ अनुहार भएकाले पनि आफ्नो दाबी सहज भएको दाबी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !