२० मंसिर २०८२, शनिबार

यसरी मनाइयो हरिवाेधिनी एकादशी (फोटोफिचर)

प्रकाशित मिति :  4 November, 2022 6:17 pm


काठमाडाैं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिवाेधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।

हरिवाेधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिवाेधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिवाेधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिवाेधिनी वा प्रवाेधिनी एकादशी भनिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिशयनीदेखि हरिवाेधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरूले तुलसीको व्रत गरी पूजा गर्दछन् ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुकै अवतार भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ । तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, सम्बृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस !