माओवादी केन्द्रका उपमहासचिव पुनले भने,‘रोल्पामा बागीलाई कुनै हातलमा सहयोग हुँदैन’
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन कम्तीमा पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा बोल्दै पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको तर्क गरे ।
०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको आरोप उनले लगाए ।
उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको आरोप लगाउँदै नेता पुनले पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद् विघटन गरेको टिप्पणी गरे।
उनले भने ,“पाँच वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरूले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरूले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो। प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो ।”
पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको आरोप लगाए । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप पनि उनले लगाए ।
नेता पुनले भने, “गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो। मन्त्रीहरूलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने । सचिवहरूमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरूलाई मातहतका सरकारजस्तो बनाउने। स्थनीय सरकारहरूको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो। बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो ।”
निरंकुशता रोक्न र प्रतिगमन सच्याउन गठबन्धन बनेको उनको भनाइ छ । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको दाबी गरे ।
रोल्पामा ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हातलमा सहयोग नहुने बताए । रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन् । सो प्रदेशमा काँग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे।
उनले अघि भने, “कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौँ। तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौँ। शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन। आपसमा मेलमिलाप गरेका छौं। रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो, अब मेलमिलापको केन्द्रका रूपमा परिचित गराउन चाहन्छौँ ।”








