११ पुस २०८२, शुक्रबार

प्रचण्ड निर्वाचनपछि देउवा प्रधानमन्त्री बन्ने कुराले झस्किए : ओली

प्रकाशित मिति :  7 November, 2022 2:04 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचनपछि पनि प्रधानमन्त्री बन्छु भनेपछि झस्केको बताएका छन् ।

सोमबार पोखरामा आयोजित वृहत अगुवा कार्यकर्ता भेलामा ओलीले पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्री बन्छु भनेपछि माओवादी अध्यक्ष प्रचण्ड झसंग भएको भन्दै कटाक्ष गरेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचन पछि एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन् । उनले आगामी निर्वाचनपछि एमालेले एकल बहुमत ल्याउने र अरु केही साना दललाई सरकारमा सहभागी गराउने बताएका छन् ।

अहिले नेपाली कांग्रेस लगायतका पार्टीले गलत चुनावी आँकलन प्रस्तुत गरेको भन्दै भ्रममा नपर्न ओलीको आग्रह छ । ‘कांग्रेसको हाराहारिमा भोट ल्याउँछ भनेर इम्प्रेसन दिइएको छ, त्यो गलत छ । एमाले अत्याधिक मार्जिनले अघि हुन्छ, एकल बहुमत ल्याउँछ । र अरु केही दललाई सरकारमा सहभागी गराइन्छ,’ ओलीले भने ।

ओलीले प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् ।

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने ।

अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !