कमला नदीमा भूतमेला, श्रद्धालुको घुइँचो
काठमाडौं । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूतमेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामीझाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।
बर्षेनि धामीझाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँनयाँ धामीझाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपूण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आआफ्नो घर लैजाने गर्छन् ।
उक्त पानी पूजाअर्चना अथवा शुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।








