१९ मंसिर २०८२, शुक्रबार

तीव्र गतिमा सवारी चलाए ट्राफिक सचेतना कक्षा लिनुपर्ने

प्रकाशित मिति :  9 November, 2022 2:37 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ ।

यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवानासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिएका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७८/ ०७९ मा तीव्र गतिका कारण तीन हजार ५४३ र चालु आर्थिक वर्षको तीन महिनामा तीव्र गतिका कारण छ सय ४९ दुर्घटना भएको छ ।

आर्थिक वर्ष २०७८ /०७९ मा १८ हजार ४४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !