७ बैशाख २०८१, शुक्रबार

जुम्लामा स्याउ उत्पादन बढ्यो

प्रकाशित मिति :  11 November, 2022 5:09 pm


जुम्ला । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए ।

उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ । व्यवसायीहरुले मौसममा प्रतिकेजी रु ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी रु ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् ।

चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । “मैले प्रतिकेजी रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी रु ६० मा नेपालगञ्ज पु¥याए”, उनले भने, “तर प्रतिकेजी रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले बताए । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पु¥याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उनले भने, “हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।”रासस



प्रतिक्रिया दिनुहोस !