वर्षमान पुनले भने,‘गठबन्धनले दुईतिहाई बहुमत ल्याउछ, संघ र सातै प्रदेशमा हाम्रो सरकार हुन्छ’
रोल्पा । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले आगामी चुनावमा कम्तिमा २ तिहाई बहुमत गठबन्धनले ल्याउने दाबी गरेका छन् ।
रोल्पाको सुलिचौरमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले उनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी समेत गरे ।
उनले भने,“अहिलेको उभार हेर्दा कम्तिमा २ तिहाई बहुमत गठबन्धनले प्राप्त गर्ने देखिएको छ । एकमहिना सेरोफेरोमा संघीय सरकार गठबन्धनको सरकार हुने छ सातै प्रदेशमा सरकार गठबन्धनको हुने छ ।”
उनले अब आफूहरूले राजनीतिक स्थायित्व, सुशासन र समृद्धीका काम गर्ने बताए । रोल्पामा मुख्य ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच अपसी प्रतिस्प्रधी जस्तो भएर काम गरेपनि अहिले मिल्दा आश्चर्य जस्तो लग्नु स्वभाविक भएको उल्लेख गरे ।
उनले भने,“ रोल्पामा कांग्रेस र माओवादी मिल्दा जनतामा अलिअलि आश्चर्य,अलिअलि नयाँपना देखिनु स्वभाविक हो । यसलाई केही नयाँ मान्न जरुरी छैन ।” उनले केन्द्रमा आफूहरूले हस्ताक्षर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको र कांग्रेसँग मिलेर सरकार चलाएको समेत स्मरण गराए ।
नेता पुनले गठबन्धन पाँच वर्ष जाने स्पष्ट पारे । रोल्पाबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नेता पुनले संविधानको रक्षा गर्ने र संसद विघटन गर्ने प्रतिबद्धता जनाए ।








