१९ मंसिर २०८२, शुक्रबार

हामीलाई ५ वर्ष दिनुहोस्, समृद्धि ल्याउँछौं : विद्या भट्टराई

प्रकाशित मिति :  13 November, 2022 2:50 pm


काठमाडौं । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आगामी निर्वाचनमा एमालेले जिते जनताको अवस्था परिवर्तन देखिनेगरी महसुुस हुने बताएकी छन् । आसन्न निर्वाचनलाई लक्षित घरदैलो कार्यक्रमका क्रममा उनले नेकपा एमालेले ५ वर्षका लागि २० वटा ग्यारेन्टीका साथ घोषणापत्र जारी गरेर अगाडि बढेको बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको निर्वाचनबाट सरकार बनाउँदा सुरु भएका योजना पुरा गर्ने उनको भनाइ छ । उम्मेदवार भट्टराईले भनिन्, ‘सरकारमा हुँदा लोकप्रिय कार्यक्रम थालेका थियौं, बिचमै सरकार ढल्यो, योजना अलपत्र छन् । अब बन्ने सरकारले ती योजना पूरा गर्छ ।’
आवश्यक नीति निर्माणसँगै यस क्षेत्रको विकासमा इमानदरपूर्वक लाग्ने प्रतिवद्धता गरिन् ।

‘पोखरामा पछि थपिएका वडामा पहिलो आवश्यकता सडक निर्माण देखियो । त्यसका लागि हामी योजनावद्ध काम गर्छौं,’ उनले भनिन् । जुनसुकै सरकारले गरेका विकास निर्माण राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलीय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएको उनले दाबी गरिन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनुपर्नेमा जोड दिइन् ।

स्थानीय आवश्यकतासहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिब, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

शनिबार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदातले दिएको सुझावलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिँदै उनले यसको खाका र इच्छाशक्ति एमालेसँग मात्र भएको दाबी गरिन् ।

यो क्षेत्रमा पोखरा महानगरका वडा नं। ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको जनाउँदै उनले भनिन् ‘हाम्रो एकताको सामना गर्न अरू सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ ।



प्रतिक्रिया दिनुहोस !