उर्लावारीमा भान्जाले गरे मामाको हत्या
उर्लावारी । धारिलो हतियार प्रयोग गरी भान्जाले आफ्नै मामाको हत्या गरेको आरोपमा उर्लावारीमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं – ८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । २२ बर्षीय सुजनले बाम्फोकले हानेर ४२ बर्षीय काजी महराको हत्या गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
काजी महरा गत मंसिर २७ गतेदेखि बहिनी कल्पना पाचकोटीको घरमा बस्दै आएका थिए । घरायसी विवाद हुँदा उनका भान्जा सुजनले धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए । उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।








