रोल्पामा स्वतन्त्र उम्मेदवार सिजलको प्रचार गरेको भन्दै माओवादी केन्द्रद्वारा खत्रीलाई कारबाही
काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरबहादुर खत्रीलाई जिम्मेवारीबाट हटाएको छ ।
रोल्पाका गठबन्धनका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन ‘सिजल’को प्रचार गरेको भन्दै खत्रीलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशले जिम्मेवारीबाट मुक्त गरेको हो ।
रोल्पामा सिजलले गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका अमरसिंह पुन विरुद्ध उम्मेदवारी दिएका छन् । रोल्पामा सत्तारुढ गठबन्धनले संघका नेकपा माओवादी केन्द्रका वर्षमान पुन, प्रदेश सभा (क) मा माओवादी केन्द्रका जोखबहादुर महराले प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका अमरसिंह पुन उम्मेदवार छन् ।
कांग्रेसका पुनलाई उम्मेदवार बनाइएको भन्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सिजलले पार्टीबाट राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धनले बागी उम्मेदवारी दिने, प्रस्तावक तथा समर्थक बस्ने वा प्रचारमा लाग्ने नेता कार्यकर्तालाई कारबाही गर्दै आएको छ । सोही सिलसिलामा खत्री पनि कारबाहीमा परेका हुन् । खत्री यसअघि राेल्पाकाे गंगादेव गाउँपालिकाका अध्यक्ष थिए भने यसपटक पराजित भएका थिए ।









