निर्वाचन अयोगले खरिद गरेको सेनिटाइजर ‘ल्याब फेल’,फिर्ता गर्न मातहतका निकायलाई पत्राचार
काठमाडाैं । निर्वाचन आयोगले मतदानका क्रममा प्रयोग गर्न किनेको सेनिटाइजर फिर्ता गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
‘ल्याब फेल’ भएको भन्दै आयोगले कार्यक्षेत्रमा पठाइसकेको सेनिटाइजर समेत प्रयोगमा रोक लगाएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ‘ल्याब फेल’ भएको भन्दै देशभर पठाइसकिएका सेनिटाइजर प्रयोग नगर्न र फिर्ता पठाउन निर्देशन दिइएको जानकारी दिए ।
आयोगले पत्र लेखेर इनस्ट्यान्ट ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न भन्दै सबै प्रदेश निर्वाचन कार्यालयरू, सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई पत्र लेखेको छ ।
आयोगले,‘यस आयोगबाट सबै मतदान केन्द्रमा प्रयाग हुने गरी पठाइएको इनस्ट्यान्ट ह्याण्ड सेनिटाइजर प्राविधिक कारणले प्रयोग गर्न नमिल्ने भएकाले मतदान केन्द्रमा पठाइ सकिएको भए उक्ट ह्याण्ड सेनिटाइजर तुरुन्त फिर्ता गर्नु गराउनु हुन तथा पठाउन(वितरण गर्न) बाँकी भए सो रोकी निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा जानकारी’ गराउन भनेको छ ।
आयोगका प्रवक्ता शर्माका अनुसार मास्क र सेनिटाइजर एउटै सप्लायर्सबाट अयोगले खरिद गरेको थियो । प्रयोगशाला परीक्षण गर्दा सेनिटाइजर भने प्रयोगमा अयोग्य देखिएको छ ।
आयोग स्रोतले भने निर्वाचनका बहानामा एकै सप्लायरबाट हतारो गरेर किनिएको, पूर्व आपूर्ति निरीक्षण (पीडीआई) प्रतिवेदन नै तयार नपारी हतार हतारमा बुझेर स्टोर दाखिला नै नगरी पठाउँदा पछि कमसल भएको प्रमाणित भएपछि फिर्ता गर्न सूचना जारी गरिएको बतायो ।








