मंसिर ४ गते उपत्यकामा बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारी साधन चलाउन रोक
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो । त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो ।
भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्मको लागि रोक लगाएको छ भने ललितपुरमा भने क्षेत्र अनुसार छुट्टाछुट्टै समयको लागि रोक लगाएको छ ।
क्षेत्र नम्बर २ र ३ को रिङरोडभित्र बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म रोक लगाएको छ । बाहिर भने बिहान ४ बजेदेखि बेलुकी ८ बजेसम्म रोक लगाएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा भने आइतबार बिहान ४ बजेदेखि सोमबार बिहान ४ बजे सम्मको लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिएका छन् ।








