अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा
अनिल नेपाली–
अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचनको सबै तयारी पुरा भएको छ ।
२०२ मतदान स्थलमा कर्मचारी, निर्वाचन सामाग्री लिएर पुगिसकेको र भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मतदान केन्द्रमा अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी निष्पक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाईएको कार्यालयले जनाएको छ ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले शान्त, स्वच्छ, निष्पक्षका लागी गरेको अभियानको लागी सन्धिखर्कमा गरेको निर्वाचन लक्षित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डा.श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
उनले भने,“निर्वाचन स्वच्छ हुन्छ, धाधली हुन्छ भन्ने कल्पना नगर्दा हुन्छ, जिल्लाका राजनितिक दल सहित सबै सचेत छन, मतदाताले निर्धक्क मत हाल्न जान म आग्रह गर्दछु ।”
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।
“निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पुरा गरेको छ, मतदान स्थलमा समस्या आएमा १५ मिनेट भित्रमा नेपाली सेना, शशस्त्र प्रहरी मतदान स्थलमा पुग्ने गरी पूर्ण तयारी छ,” प्रजिअ घिमिरेले भने । अर्घखाँचीमा निर्वाचनका लागि १ हजार ६ सय १८ जना कर्मचारी खटिने छन् ।
एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको अर्घाखाँचीमा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् ।
एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने छन् ।








