संविधान र प्रणालीले ठिक ढंगले काम गर्दैछ भन्ने प्रमाण यो चुनाव हो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो निर्वाचन संविधानलाई संस्थागत बनाउने प्रकृयामा ठूला महत्व रहेको बताएका छन् ।
देशभरी नै सकारात्मक माहोल रहेको भन्दै प्रचण्डले स्वच्छ र धाधलीरहित र निष्पक्ष निर्वाचन सम्पन्न हुनु ठूलो कुरा भएको उल्लेख गरे । उनले भने,“लोकतन्त्रमा आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु भनेको संविधान र प्रणालीले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण हो ।”
भरतपुर महानगरपालिका–१४ मा रहेको केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले संविधान माथि नै प्रश्न चिन्ह उठाउन खोज्नेहरुका लागि यो निर्वाचनमा सहभागिता आफैमा यो ठूलो प्रमाण भएको उल्लेख गरे ।
प्रचण्डले गठबन्धनमा केही समस्या नहुने र प्रधानमन्त्रीकै कारण आगामी दिनमा गठबन्धन नटुट्ने उल्लेख गरे । उनले भने,“यो विषय सजिलै टुंगिन्छ, प्रधानमन्त्री पदकै कारणले गठबन्धन टुट्दैन ।”








