रोल्पामा ४६ प्रतिशत मत खस्यो, सबैभन्दा कम मतदान थबाङमा
उमा के.सी.-
रोल्पा । प्रतिनिधि सभा र प्रदेश सभाका लागी आज सम्पन्न निर्वाचनमा रोल्पामा करिव ४६ प्रतिशत मात्र मत खसेको छ ।
जिल्लाका सवै मतदान केन्द्रको अन्तिम मत परिणाम प्राप्त मतका आधारमा करिव ४६ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत प्रेम बहादुर खड्काले जानकारी दिए । जिल्लाका केही निर्वाचन केन्द्रहरू दुर्गम रहेका कारण अन्तिम मत परिणाम अद्यावधिक हुन बाँकी रहेको वताइएको छ ।
जिल्लामा सवभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । थवाङ गाउँपालिका भित्र मिरुल, उवा र थबाङ गरि साविकका तीन गाविस पर्दछन् ।
त्रिवेणी गाँउपालिकामा ८ हजार १२२ मत खसेको छ भने रुन्टीगढीमा ८ हजार ६७९, परिवर्तनबाट ६ हजार ३२० गंगादेवबाट ६ हजार ७१३,माडी ६हजार १२८, सुनिलस्मृति गाउपलिकाबाट ८ हजार २३४,सुनछहरीबाट ४ हजार ३९० लुग्रीबाट ६ हजार८७३ र रोल्पा नगरपालिकाबाट ९ हजार ५६० खसेको छ ।
जिल्लामा कुल १ लाख ४५ हजार ४७१ मतदाता रहेका थिए । जिल्लामा ८६ मतदान स्थल र १७७ मतदान केन्द्र कायम गरिएको थियो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा ६९ प्रतिशत मत खसेको थियो ।








