उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गर्ने सवारीसाधनलाई कडा कारवाही गर्दै
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा २ लाख ७७ हजार ६८४ वटा सवारीसाधानलाई ट्राफिक नियम उल्लघंनमा कारवाही गरेको छ । उपत्यका ट्राफिक कार्यालयले ट्राफिक व्यवस्थापन तथा सुरक्षा सम्बन्धमा संचालित विभिन्र गतिविधिहरूको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एंव प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
उनका अनुसार मादक पदार्थ सेवन गरि सवारी चलाउने ९ हजार ६९४, जथाभावी पार्किङ गर्ने २२ हजार ४२५, मनलागि ट्रयाक्सी भाडा लिने २ हजार ८७८ लगायत अन्य विभिन्र नियम उल्लघंन गर्ने सवारीलाई कारवाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठूला आवाज तथा स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने तथा ठूला आवाज भएका सवारीसाधनलाई कारबाही गर्ने तीव्रता दिएको छ । उपत्यका ट्राफिक प्रहरीले एक हप्ताको अवधिमा आवाज परिवर्तन गरेर मोटरसाइकल चलाउने एक सयभन्दा बढीलाई कारवाही गरेको प्रवक्ता भट्टले बताए ।
भट्टका अनुसार जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याएको कारण कारवाहीलाई तीब्र रूपमा थालिएको हो ।
त्यस्तै मंसिर १५ गतेदेखि काठमाडौं उपत्यकाका सडकमा तीव्र गतिमा सवारी चलाउनेले सचेतना कक्षा लिनुपर्ने भएको छ । भट्टले मंसिर १५ गते बिहीबारदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरूलाई नियमअनुसार जरिवाना गर्नुका साथै अनिवार्य रूपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने बताएका छन् ।
भट्टले भने, “तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गर्दछ । आर्थिक वर्ष २०७८ |०७९ मा ३५ सय ४३ र चालु आर्थिक वर्षको ३ महिनामा ६४९ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएका छन् । यस्ता दुर्घटना न्युनीकरणको लागि हामीले यस्तो नियाम बनाएका हौँ । पक्कै पनि यसले राम्रो नतिजा दिनेछ ।’’








