१२ श्रावण २०८१, शनिबार

स्याङ्जा २ : मतगणनाको विषयमा निवार्चन आयुक्तहरूको फरक फरक मत

प्रकाशित मिति :  28 November, 2022 12:03 pm


स्याङ्जा । स्याङ्जामा धाँधली भएको भन्दै उजुरी परेको विषयमा निर्णय गर्दा निर्वाचन आयोगका आयुक्तहरूको मत बाँझिएको छ ।

स्याङ्जामा मतदानका क्रममा धाँधली भएको भन्दै उजुरी परेकोमा आयोगले त्यसका लागि छानबिन गर्ने निर्णय गरेकोमा निर्वाचन अयुक्त ईशवरीप्रसाद पौड्यालले त्यसमा फरक मत राखेका छन् । उनले निर्वाचन अधिकृतलाई मतगणना गर्ने निर्देशन दिनुपर्ने आफ्नो फरक मतमा उल्लेख गरेका छन् ।

आइतबार पौड्यालले एक विज्ञप्ती सार्वजनिक गर्दै ‘स्याङ्जा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा मतदानको समयमा मतदान अधिकृतबाट मतदानस्थलमा कुनै हुल हुज्जतलगायतका अवाञ्छित गतिविधि भएको छ भनी सूचना वा प्रतिवेदन निर्वाचन अधिकृतलाई नदिएको, मतपेटिकाहरू कानुनी प्रक्रिया पूरा गरी कागजातसहित मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाएको र सोको निर्वाचन अधिकृतले भर्पाई गरिदिएको मतपेटिका सम्बन्धित पदको छुट्टाछुट्टै कोठाभित्र सुरक्षित राख्दा नेपाली कांग्रेस र नेकपा एमालेसहितका प्रतिनिधिहरूको रोहवरमा मुचुल्का गरी प्रतिनिधिहरूको सहीछाप गरी तालाचाबी सिलछाप लगाइएको भनी निर्वाचन अधिकृतबाट लेखिआएको,’ पौड्यालले लेखेका छन्, ‘प्रतिनिधिसभाका उपरोक्त मतदानस्थलको विभिन्न दलबाट उजुरी परेको भए तापनि उपरोक्त ऐनको दफा ५५ र दफा ४६ को अवस्था विद्यमान नरहेकाले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानबिन गर्न जरुरी नदेखिएको, यसरी आनावश्यक ठाउँमा छानबिन गर्न पठाउँदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने, मतगणना कार्य ढिलो हुने र समग्र निर्वाचनप्रति मतदाताको वितृष्णा पैदा हुने हुँदा सम्बन्धित निर्वाचन अधिकृतलाई मतगणना गर्ने निर्देशन पठाउन यो फरक मत प्रस्तुत गरेको छु ।’

योसँगै स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुने कि पुन: मतदान हुने भन्रे विषय निर्वाचन सकिएको एक हप्ता पुग्दा पनि अन्योलमा रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !