१२ श्रावण २०८१, शनिबार

नेशनल लाईफको दुई दिने बिमा सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  28 November, 2022 5:17 pm


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बिमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बिमा सचेतना प्रवर्धनमा जीवन बिमा कम्पनीहरूले पनि योगदान पुर्‍याउनु पर्ने नेपाल बिमा प्राधिकरणको नीति अनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मङ्सिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसै गरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मङ्सिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालय र बझाङको झोता स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बिमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।

साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरूको रु १ लाखको म्यादी जीवन बिमा गरी खत्रीले बिमालेख हस्तान्तरण गरेका थिए । उता भैरव माध्यमिक विद्यालयमा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौला पीडित उजालाकुमारी दमाईलाई सीआरएस अन्तर्गत आर्थिक सहयोग स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेकाे कम्पनीले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !