१५ चैत्र २०८०, बिहिबार

धनराजको जितपछि पद्माले भनिन्, ‘बुथ कब्जा गरेर जित्न सफल भएकोमा बधाई’

प्रकाशित मिति :  4 December, 2022 1:07 pm


स्याङ्जा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई बधाई दिएकी छन् । उनले प्रतिस्पर्धी गुरुङ निर्वाचित भएपछि केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएको भन्दै सामाजिक सञ्जालमार्फत तीव्र आलोचनासहितको बधाई दिएकी हुन् ।

अर्यालले सामाजिक सन्जालमा लेखेकी छन्, “शालीन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रूपमा बुझे पनि निर्वाचनको दिनदेखि आफ्नो बुझाइ झुठो प्रमाणित भएको उल्लेख गरेकी छन् । ‘‘मैले तपाईंलाई शालीन एवम् लोकतन्त्रमाथि विश्वास गर्ने एउटा नेताको रूपमा बुझेको थिएँ । निर्वाचनका दिन चापाकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन ।’’

मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांंग्रेसले बुथ कब्जा गरेर नै विजय हाँसिल गरेको अर्यालको जिकिर रहेको छ ।

अर्यालले सामाजिक सन्जालमा गुरुङलाई आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् भन्दै चेतावनी दिएकी छन् । “युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस, न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरूलाइ दुरुप्रयोग गरी प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस ।’’

लोकतन्त्रमा जनताको मतलाई सम्मान गर्ने भन्दै बुथ कब्जा गरी मृत्यु भएको र विदेशीएका मानिसको मत खसेको यथेष्ट प्रमाण हुँदा हुँदै आफ्नो मागलाई वेवास्ता गरिएको उनको भनाइ छ ।

शनिबार सम्पन्र भएको मतगणनाको नतिजामा गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरेका छन् भने अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरूबिचको मतान्तर ५ हजार ६२७ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !