१२ श्रावण २०८१, शनिबार

इन्गेजमेन्ट टुटेपछि केटापक्षकै घरमा पुगेर आत्मदाह गरेकी पुष्पा न्यौपानेको मृत्यु

प्रकाशित मिति :  6 December, 2022 2:25 pm


काठमाडौं । इनगेजमेन्ट टुटेपछि २७ वर्षीय पुष्पा न्यौपानेले केटापक्षको घरमा गएर आत्मदाह गरेकि छन् । दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका न्यौपानेको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेकी पुष्पाले १८ मङ्सिरमा केटाको घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएकी पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद चुलिएको थियो ।

प्रहरीले उद्धार गरेर उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेपनि अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार ९ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । प्रहरीकाअनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।

परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !