१३ बैशाख २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीद्वारा कुवेतमा अलपत्र एक महिलाको उद्दार

प्रकाशित मिति :  7 December, 2022 6:04 pm


काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कुवेतमा अलपत्र परेकी एक महिलाको उद्दार गरेको छ ।

बर्दिया बाँसगढी नगरपालिका-२ बेतनी घर भएकी २३ वर्षीय रेखा रोकायको उद्धार गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । उद्दारपछि गएराति २ बजे रोकाय काठमाडौं आइपुगेकी हुन् ।

राेकाय ३ महिना पहिलो दलालको चङ्गुलमा परेर भारतको दिल्ली हुँदै कुवेत पुगेकी दिइन् । रोकायले आफूलाई सुर्खेत मालारानी घर भएका गोविन्द ओलीले कुवेत पुराएको बताएकी छन् ।

राम्रो कम्पनीमा काम लगाइदिने भने पनि कुवेत पुगेपछि घरायसी काममा लगाइएको थियो । घरबाट बाहिर निस्कन नदिने र यौनजन्य हिंसामा समेत परेपछि रोकाय भागेकी थिइन् ।

अध्यक्ष शाहीले भने,“ उहाँ भागेर एक जना नेपाली दिदीको सम्पर्कमा पुग्नुभएको रहेछ । हामीलाई जानकारी आएपछि सबै पक्षसँग समन्वय गरेर उद्दार गरेका हौं ।”

बन्धक बनेको घरबाट भागेर राेकाय कुवेतमै रहेकी आयुसा चन्दको सम्पर्कमा पुगेकी थिइन् । चन्दले रोकायको अवस्थाबारे जानकारी गराए लगत्तै अखिल क्रान्तिकारीले उद्धारको पहल गरेको थियो ।

अखिल क्रान्तिकारीका नेता लोकेश जैशीले प्रहरी, राजदूतावास र गैरआवासीय नेपालीहरूको सहयोगमा रोकायको उद्धार गरेर संगठनको संरक्षणमा राखिएको जानकारी दिए ।

उनले भने,“ उहाँको स्वास्थ्य अवस्था राम्रो छैन, अहिले संगठनकै संरक्षणमा राखिएको छ ।”



प्रतिक्रिया दिनुहोस !