१६ चैत्र २०८०, शुक्रबार

सन्धिखर्क नगरपालिकाका मुख्य बजारका सडक पेटीमा मालवस्तु राख्न नपाइने

प्रकाशित मिति :  8 December, 2022 9:04 am


सन्धिखर्क । सन्धिखर्क नगरपालिकाभित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु अव्यवस्थित रूपमा राख्न नपाइने भएको छ ।

सडक नै ओगट्ने गरी मालवस्तु राख्दा बजारको सौन्दर्य बिग्रने तथा सवारी दुर्घटना बढ्ने भएपछि सडकमा सामान राख्न निषेध गरिएको नगरपालिकाले जनाएको छ ।

व्यापारीहरूले सडकको चोक तथा फुटपाथमा निर्माण सामग्री, तरकारी तथा फलफुल, किराना, फेन्सी सामग्री बिक्री वितरणका लागि सडक ओगट्ने गरी सामनहरू राख्ने गरेका छन् । सवारी दुर्घटना बढ्ने तथा सडक जाम हुन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

सडकको पेटी, सडक तथा चोकहरूरमा सामग्रीहरु राखेको पाइएमा कानुन अनुसार कडा कारवाही गरी जरिवाना गर्ने सन्धिखर्क नगरपालिकामा बुधबार बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक अतिक्रमित गरी निर्माण सामग्री राखिएको पाइएमा तुरुन्त खाली गर्ने, मालवस्तु ल्याएका सवारी साधनहरूबाट बेलुका ५ बजेदेखि बिहान ९ बजे सम्म मात्र सामग्री अनलोड गर्ने, सडकमा पानी फाल्ने कार्य निषेध गर्ने, ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवसायीहरूले आफ्नो व्यवसाय कक्षमा अनिवार्य रूपमा कम्तीमा २५ लिटर क्षमताको अग्नी नियन्त्रण साधन राख्नु पर्ने लगायतका निर्णय नगरपालिकाले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !