२७ बैशाख २०८१, बिहिबार

लकडाउन थप कडा गर्ने सरकारको निर्णय, तीन जिल्लामा कोरोना भाइरसको ‘र्यापिड टेष्टिङ’

प्रकाशित मिति :  4 April, 2020 8:39 pm


काठमाण्डौं, २२ चैत ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले संक्रमणको संख्या थोरै भएपनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको देखिएको भन्दै आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाका अनुसार अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई कडाईका साथ रोक्ने सरकारको निर्णय छ ।

मन्त्री खतिवडाले भने,‘अव अस्वभाविक अवागमन पूर्ण रुपमा रोकिन्छ र यसलाई सबै तहले कार्यान्वयन गर्नेछन् । यो नै कोरोना रोकथामको अति उत्तम उपाय हो ।’

बैठकले कैलाली,कञ्चनपुर र बागलुङमा छिटो विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने निर्णय पनि गरेको छ । त्यहाँ भएका संक्रमितको पहिचान र संक्रमितबाट अरुमा नसरोस भन्नका लागि छिटो विधिबाट नमुना परीक्षण गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । उनले भने,‘ हामीले कैलाली,कञ्चनपुर र बागलुङमा मास स्केलमा र्यापिड टेष्ट गर्ने निर्णय भएको छ ।’

बैठकले स्वास्थ्यकर्मीको मनोबल घट्न नदिने र पूर्ण सुरक्षाका साथ काममा लगाउने निर्णय समेत गरेको छ । सुरक्षामा बाधा पुराए प्रचलित कानुन बमोजिम कारबाही गर्ने भन्दै स्वास्थ्यकर्मीको सुरक्षा प्रवन्ध गर्न सबै निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए । लकडाउन लम्बिने नलम्बिनेबारेको निर्णय भने अर्को बैठकबाट हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !