५ जेष्ठ २०८१, शनिबार

निलम्बित प्रधानन्यायधीश जबराविरुद्धको रिटमा सुनुवाई जारी

प्रकाशित मिति :  9 December, 2022 1:18 pm


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा बहस भइरहेको हो ।

सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ। इजलासमा कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन्।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएका थिए । पत्र पाएपछि जबरा पनि सर्वोच्च जाने तयारीमा थिए तर, सर्वोच्चको फूलकोर्टले भने उल्टै संघीय संसद्को सचिवालयको पत्रको वैधानिकतामाथि नै प्रश्न उठाएको थियो। सोही पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो।

राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो । राणा कामका लागि सर्वोच्च अदालत फर्कने तयारी गरे पनि बारका वकिललगायतले प्रहरी प्रशासनको आडमा अवरोध गरिरहेका छन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले जबरालाई सर्वोच्च फिर्ता हुन नदिने बताउँदै आएका छन्। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्रको सर्वत्र विरोध भएको थियो भने नेपाल बार एसोसिएसनले गौतममाथि कारबाही हुनुपर्ने माग सारेको थियो।



प्रतिक्रिया दिनुहोस !