५ जेष्ठ २०८१, शनिबार
लुम्बिनी प्रदेश राजधानी

राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालय तत्कालै देउखुरी सर्ने,सेनाको टुकुडी राख्ने निर्णय

प्रकाशित मिति :  9 December, 2022 6:13 pm


देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय सुरक्षा समिति बैठक बसेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सरेलगत्तै मुख्यमन्त्री कुलप्रसाद केसीले सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री केसीको उपस्थितिमा आन्तरिक आन्तरिक मामिला,कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले प्रदेशको स्थायी राजधानीको सुरक्षा चुनौतीबारे समीक्षा र आगामी तयारीबारे छलफल गरेको छ ।

बैठकले राजधानी देउखुरीको सुरक्षामा विशेष ध्यान दिने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार एक हप्ताभित्रै राष्ट्रिय अनुसन्धान विभागको लुम्बिनी प्रदेश कार्यालय देउखुरी सार्ने र नेपाली सेनाको सुरक्षा टुकुडी समेत बस्ने निर्णय भएको छ ।

अध्यक्ष विष्टले भने,“ राष्ट्रिय अनुसन्धान विभागको डिआईजी कार्यालय एक हप्ताभित्रै सार्ने कुरा भएको छ र छिट्टै नेपाली सेनाको टुकुडी समेत बस्ने भएको छ ।” सुरक्षाका लागि नेपाली सेनाको टुकुडी भने निर्वाचन आचारसंहित हटेलगत्तै आउने छ ।

राजमार्ग क्षेत्र भएकाले ट्राफिक व्यवस्थापन लगायतका काम पनि गर्ने निर्णय भएको छ । बैठकले राजधानी सरेलगत्तै देखिन सक्ने सुरक्षा चुनौतीबारे समग्र समीक्ष गरेको अध्यक्ष विष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !