१२ श्रावण २०८१, शनिबार

लामोदुरीमा दुई जना चालक नराख्ने ४१ ओटा सवारी साधन कारवाहीमा

प्रकाशित मिति :  16 December, 2022 12:59 pm


काठमाडौं । लामोदुरीका यात्रुवाहक सवारीसाधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौंको नागढुंङगा नाकामा ट्राफिक (कम्युनिकेसन एप्लिकेसन) मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार ट्राफिक (कम्युनिकेसन एप्लिकेसन) मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङगा नाका सहित सातै ओटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाईनटमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए(नभएको एकिन गर्ने गरिन्छ ।

२०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राख्नुपर्दछ ।

ऐन अनुसार प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।



प्रतिक्रिया दिनुहोस !