१२ श्रावण २०८१, शनिबार

निर्वाचन आयाेगले सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझायो

प्रकाशित मिति :  17 December, 2022 5:17 pm


काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी पुगेका थिए ।

यस्तै सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस !