१२ श्रावण २०८१, शनिबार

जथाभावी सवारी पार्किङ नियन्त्रण गर्न तात्यो वीरगञ्ज महानगर

प्रकाशित मिति :  18 December, 2022 12:57 pm


काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कामलाई तिब्रता दिएको छ ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एम्बुलेन्स पनि हटाएको थियो ।

एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा बेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा पदैल यात्रीलाई पनि असहज भएको थियो,’ उनले भने, “महानगरले सुरु गरेको अभियान अन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्रबाट अभियान सुरू गरेका छौँ । अब सहज हुने अपेक्षा छ ।’’

अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखी नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।



प्रतिक्रिया दिनुहोस !