चोरीको मोटरसाइकल सहित २ व्यक्ति नियन्त्रणमा
काठमाडौँ । चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएका दुई जनालाई ट्राफिक प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाएको छ ।
रामेछापको दोरम्बा वडा नम्बर ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २१ वर्षिय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि आजै परीसर जावलाखेल बुझाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बाग्मति प्रदेश(०२(०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।
खोजतलास गर्ने क्रममा वास्तबिक नम्बर परिवर्तन गरि बाग्मति प्रदेश(०२(०१९ प ९५६४ नम्बर प्रयोग गरी मोटरसाईकल चलाउँदै गर्दा हिजो अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर)खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनीलाई हस्तान्त्रण गरिसकेको छ । यस्तै चोरीका १९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित नियन्त्रणमा आएका १९ जनालाई पनि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर एवम् वृत्तमा बुझाइएको छ ।








