१६ बैशाख २०८१, आइतबार

नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द रहने

प्रकाशित मिति :  20 December, 2022 8:12 am


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिङ)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने कार्कीले जानकारी दिए । कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए।

उनका अनुसार नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन्। बाँकी १५ वटा पुल बनिरहेका छन्। ती मध्ये तीन वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्कीले बताए। सेती दोभान, डुम्रे र लामो बालुवा पुल अबको तीन महिनामा सञ्चालनमा ल्याउने तयारी आयोजनाको छ।

नारायणगढतर्फबाट जाने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।

काठमाडौंतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिङ बजारबाट मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा रु एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !