२८ माघ २०८१, सोमबार

पार्टीको भविष्य सम्झेर निर्णय गर्न सांसदहरुलाई गगनको अपिल

प्रकाशित मिति :  21 December, 2022 8:47 am


काठमाडौं । आज कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका हुन् ।

थापाले मतदान अघि गरेको अपिल

आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ।

भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु।

वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु।

तीन तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रूपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ। मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु।

नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै याहाहरूबाट मार्गनिर्देनको अपेक्षा गर्दछु। पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखी युगानुकूल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु।



प्रतिक्रिया दिनुहोस !