शोभराजकी प्रेमिका भन्छिन् : तत्काल फ्रान्स पठाउनुको विकल्प छैन
काठमाडौं । विश्वभर विकिनी किलरको रुपमा चर्चित चाल्र्स शोभराजलाई आज साँझ नै फ्रान्स पठाउने भएको छ । शोभराजको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै तत्काल स्वदेश पठाउनुको विकल्प नरहेको उनकी प्रेमिका निहिता विश्वासले बताइन् ।
अध्यागमन विभागमा पुगेकी शोभराजकी प्रेमिका निकिताले भनिन् ‘अहिले उनको स्वदेश फिर्ति महत्वपूर्ण हो । बाँकी दोस्रो कुरा हुन् । उनीमाथि फेरि पनि सुरक्षा जोखिम देखिएकाले फ्रान्स पठाएपछि मात्र हामी ढुक्क हुन्छौँ । त्यसपछि मात्र परिवारको कुरा आउँछ’, शोभराज जेलबाट निस्किएपछि निहिताले भनिन् ।’
प्रेमिका निहिता विश्वासल चाल्र्स शोभराजसँगको सम्बन्ध कायमै रहेको संकेत गर्दै आफ्नो व्यक्तिगत जीवनकोबारेमा धेरै चासो नराख्न आग्रह गरिन् ।
१२ वर्ष अगाडी निहिता विश्वासले आफुभन्दा ४४ वर्ष जेष्ठ व्यक्ति शोभराजसँग कारागारमै विवाह गरेको घोषणा गरेकी थिइन् ।
नेपालमा १९ वर्षदेखि कैदी जीवन बिताइरहेका शोभराजलाई बुधबार सर्वोच्च अदालतले थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता हुन आदेश दिएको थियो ।
जसअनुसार शोभराजलाई आज (शुक्रबार) केन्द्रिय कारागारमै स्वास्थ्य परिक्षण गरेर सिधै अध्यागमन विभाग लगिएको हो ।
शोभराजले केही दिन नेपाल बस्न चाहे पनि उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी रहेको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने स्रोतले बताएको छ ।








