२ माघ २०८२, शुक्रबार

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन

प्रकाशित मिति :  23 December, 2022 2:04 pm


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले ७१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । कार्यक्रममा प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहितले बालबालिकालाई ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो ।

काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

विद्यालयको एसेम्बली समयमा दिइएको ट्राफिक सचेतनामा १४ हजार ५ सय ९० जना विद्यार्थीहरू लाभान्वित भएका छन् । सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरू एवम् सडक सुरक्षासम्बन्धी आधारभुत कुराहरू समावेश गरिएको थियो ।

कुल ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गर्ने उद्देश्यले गत मंसिर १५ गतेदेखि शुरु गरिएको अभियानमा ७१ विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी विद्यालयमा पनि चाँडै कक्षा सञ्चालन गर्ने योजना रहेको भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !