२३ बैशाख २०८१, आइतबार

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण हुँदै

प्रकाशित मिति :  24 December, 2022 3:58 pm


काठमाडौँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।

हाल तनहुँ तर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । “स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ”, उनले भने, “त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ ।” उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ ।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।

पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।

यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन् । रासस



प्रतिक्रिया दिनुहोस !