बालकोटबाट प्रचण्ड ‘फर्किने’ कांग्रेसको विश्वास, सञ्चार मन्त्री कार्कीले भने,‘गठबन्धन कायमै रहने छ’
काठमाडौं । कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।
आइतवार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन कायमै राख्न सफल हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले गठबन्धन मुलुकको आवश्यक्ता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको समेत बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट प्रचण्ड बाहिरिएका थिए ।
सञ्चारमन्त्री कार्कीले भने फेरि गठबन्धनको बैठक बस्ने र सहमति हुने दाबी गरे ।
उनले भने,“ ‘गठबन्धन अहिले मुलुकको आवश्यक्ता हो । छलफल जारी छ । केही समयपछि फेरि बैठक सुचारु हुन्छ र हामी एउटा निर्णयमा पुग्छौं । गठबन्धन मुलुकको आवश्यक्ता हो । यसलाई जनताले अनुमोदन पनि गरिसकेका छन् र जनताको जुन अभिमत छ । त्यसलाई कदर गर्दै हामी अगाडि बढ्छौं । अब आन्तरिक छलफलको पनि जरुरी छ ।”
मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने दाबी गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको एक हप्ताको समय आजै अपरान्ह ५ बजे सकिँदैछ ।








