प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ। आज आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको बैठकले उक्त निर्णय गरेको हो । नेकपा एमाले र माओवादीबिच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको छ ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । त्यस्तै ओलीलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने समेत पुगेका थिए ।








