आन्तरिक बजारमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलको माग
काठमाडौँ । नेपालकाे आन्तरिक बजारमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलकाे माग हुने गरेकाे फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष श्रीरानी राज घिमिरेले बताएका छन् । उक्त जुत्ता चप्पलकाे बजार माग पुरा गर्न स्वदेशी उत्पादन पूर्ण रुपमा आत्मनिर्भर रहेको घिमिरेकाे दाबी छ । पुष २१ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने १६ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा घिमिरेले नेपालमा दश करोड जोडि जुत्ता नेपालको जनंसङ्ख्यालाई आवश्यक रहेको बताएका हुन् ।
घिमिरेले नेपालीहरुलाई प्रति व्यक्ति वार्षिक ३ जोर विभिन्र प्रकारका जुत्ता चप्पल प्रयोग गर्ने गरेको र हालको नेपालको जनसङ्ख्याको आधार ९ करोड जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको बताए । उनले भने, “प्रदर्शनीमा स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेल तथा खुद्रा व्यपारीहरुलाई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने र स्वदेशी उत्पानलाई प्रर्वदन गरेर विदेश निर्यातमा जोड दिने छौ । ’’
नेपाल सरकारले जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरुलाई विभिन्र क्षेत्रमा सहयोग गर्नुपर्ने घिमिरेको भनाइ रहेको छ । उनले भने, “नेपाल सरकारले यस्ता उद्योगीहरुलाई उत्पादनको लागि आवश्यक पर्ने जमिन देखि बैंकहरुबाट सहूलियत ऋण दिने जस्ता कार्यहरु गर्नुपर्छ । त्यो गर्दा हामी जुत्ता, चप्पल निर्यात गर्न सक्षम हुन्छौँ ।’’
प्रदर्शनीमा ४० हजार देखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरु सहभागि हुने छन् भने प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनीहरु सहभागी हुने मेलाका संयोजक सुरज बन्जाडेले बताएका छन् ।
बन्जाडेले नेपालमा जुत्ता चप्पल उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म नेपालकै कच्चा पर्दाथ प्रयोग हुने बताए । उनले भने, “हामीले आयोजना गर्न लागेको प्रर्दशानीले जुत्ता, चप्पलको लागि चाहिने कच्चा पर्दाथमा आत्मनिर्भर बनाएर ५० देखि ८० प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको छ ।’’
त्यस्तै २०७४ मा गरिएको अनुसन्धान अनुसार नेपालमा लघु उद्योग, साना, माझौला, र ठूला गरि देशभर १५ सयको संख्यामा जुत्ता चप्पल उत्पादक रहेका छन् । जसमध्ये ठूला तथा माझौला २२९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १०७२, र फेल्ट तथा हस्तकलामा आधारित २०० रहेका छन् ।
नेपालमा ठूला तथा साना उद्योगीहरुको वार्षिक उत्पादन क्षमता १६ करोड जोर भन्दा माथि रहेको छ भने उद्यमीहरुले यस क्षेत्रमा ३० अर्ब भन्दा माथि लगानी र ४ अर्ब भन्दा माथि बैंक कर्जा रहेको छ ।








