९ पुस २०८२, बुधबार

दुधको मूल्य बढाउने निर्णय तत्कालका लागि स्थगित : राष्ट्रिय दुग्ध विकास बोर्ड

प्रकाशित मिति :  1 January, 2023 6:46 pm


काठमाडौं । दुधको मुल्य बढाउने निर्णय तत्कालका लागि स्थगित भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले विज्ञप्ति जारी गर्दै हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन भएको जनाएको छ ।

केही उद्योगी व्यवसायीले दुधको मूल्य बढाएको बताएपछि बोर्डले छलफलमा बोलाएको थियो ।

बोर्डका उपाध्यक्ष रहेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको उपस्थितिमा छलफल भएको थियो ।

छलफलपछि जारी बोर्डको विज्ञप्तिमा‘सरोकालवाला निकायहरूबिच बसेको बैठकको निर्णय अनुसार हाल वृद्धि गरिएको दुधको मूल्य स्थगन गरी दुधको उत्पादन,लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताका क्रयशक्ति समेतको वैज्ञानिक तवरबाट यथाशिघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति’ भएको जनाइएको छ ।

दुध उत्पादन बढी हुने सिजनमा समेत दुधको अभाव देखिएको भन्दै डेरी उद्योग संघले काँचो(झोल) दुधको मूल्य बढाउने निर्णय गरेका थिए ।

निजी डेरीबाट उत्पादित दूधको अधिकतम खुद्रा मूल्य शनिबारदेखि प्रतिपोका ५० रूपैयाँ पुगेको थियो ।

तर, नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघभित्रकै केही उद्योगीले समेत मुल्य वृद्धिप्रति असन्तुष्टि जनाएका थिए । मूल्य वृद्धि र विवादपछि बोर्डले छलफलमा बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस !