प्रयोजन विपरीत पावर टेलर चलाउने ४१ जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा गरिएको विशेष चेकिङमा प्रयोजन विपरीत चलाएका ४१ ओटा पावर टेलरका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
कृषी प्रयोजनमा दर्ता भएका पावर टेलरलाई अन्य प्रयोजनमा चलाइएको र ग्रामिण सडकमा चलाउने पावर टेलर हाइवेमा समेत चलाएको पाइएपछि ट्राफिक प्रहरीले आज विशेष चेकिङ गरेको थियो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ (१)मा कुनै एक प्रयोजनका लागि दर्ता भइ अर्कै प्रयोजनमा चलाउने पावर टेलरका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
त्यस्तै, हर्न बजाउने १०३ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन्। शहरी क्षेत्रमा ठुलो आवाजमा हर्न बजाउदा वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने र ध्वनी प्रदुषण हुने हुँदा अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले आग्रह गरेका छन्।
काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि नै हर्न निषेध गरिएको छ।








